मोबाइलको विवादले निम्त्यायो दुःखद अन्त्य, आफ्नै साथीको कुटपिटबाट १७ वर्षीय लजिनको मृत्यु



बागलुङ, साउन १० – बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरूले मोबाइलको विषयमा भएको विवादपछि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका लजिनको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको छ।

प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार जन्मदिन मनाउने क्रममा साथीहरूले रातिसम्म मदिरा सेवन गरेका थिए। घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन मोबाइल माग्दा उनले दिन अस्वीकार गरेपछि विवाद चर्किएको र त्यसपछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार कुटपिटका क्रममा लजिन बेहोस भएपछि उनको मृत्यु भएको र घटनालाई लुकाउन शव घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा रहेको मनखोलामा लगेर छाडिएको थियो।

अनुसन्धानमा जन्मदिन कार्यक्रममा सात जना सहभागी भएको खुलेको छ। अन्य साथीहरू घर फर्किएपछि रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याउँदै एकान्त स्थानमा लगेर आक्रमण गरेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानले उनीहरू साउन १ गते राति करिब २:३० बजेसम्म स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरिरहेको देखाएको छ। कार्यक्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ।

लजिन सम्पर्कविहीन भएपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा बिहीबार मनखोलामा उनको शव फेला परेको हो।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौँमा अध्ययनरत लजिन केही समयअघि बिदामा घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी अन्ततः आफ्नै साथीहरूको आक्रमणमा ज्यान गुमाउन पुगे।

प्रतिक्रिया दिनुहोस्