प्राविधिक त्रुटि, अतिक्रमण र कङ्क्रिटकरणले डुब्यो माइतीघर, दीर्घकालीन समाधानका लागि भूमिगत ट्याङ्कीको सुझाव



काठमाडौं, साउन ११ — माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण ढल निकास प्रणालीको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्ष सार्वजनिक भएको छ।

साउन ५ गते परेको वर्षापछि माइतीघर डुबानमा परेपछि काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा गरिएको स्थलगत अनुगमनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो।

प्रतिवेदनअनुसार माइतीघर क्षेत्रमा माथिल्लो भागबाट आउने ९० सेन्टिमिटर चौडाइको ढल तल्लो भागमा पुग्दा ६० सेन्टिमिटरमा साँघुरिने भएकाले पानीको चाप थेग्न नसकी ‘घाँटी साँघुरिने’ समस्या उत्पन्न हुने र सडक जलमग्न हुने गरेको छ।

यस्तै, टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलातर्फ जानुको सट्टा उल्टै सडक र बस्तीमा फर्कने समस्याले पनि डुबान बढाउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले विगतमा वर्षाको पानी जमिनमुनि सोस्ने प्राकृतिक जलाधारका रूपमा रहेका खुला क्षेत्रहरूमा सरकारी भवन निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकिँदा पानी सोसिने प्रक्रिया बन्द भएको र सतहमा बग्ने पानी सिधै माइतीघर क्षेत्रमा केन्द्रित हुन थालेको जनाएको छ।

ढलमाथि व्यक्तिगत तथा सरकारी संरचना निर्माण, पाइपभित्र प्लास्टिक, बोतल, ढुङ्गा–गिटी जस्ता फोहोर थुप्रिनु र नियमित सरसफाइमा अवरोध पुग्नु पनि डुबानका प्रमुख कारणका रूपमा औँल्याइएको छ।

प्रतिवेदनले तत्कालका लागि ढलका अवरोध हटाउने, म्यानहोलको उचाइ बढाउने र नियमित सरसफाइलाई प्राथमिकता दिन सुझाव दिएको छ।

दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गामुनि ठूलो क्षमताको भूमिगत पानी भण्डारण ट्याङ्की निर्माण, टुकुचा खोलाको निकासमा पानी फर्किन नदिने एकतर्फी भल्भ जडान, उपत्यकाको ढल सञ्जालको विस्तृत नक्साङ्कन तथा माइतीघर क्षेत्रको जलाधार क्षमताअनुसार ढल प्रणाली पुनः डिजाइन गर्न प्रतिवेदनले सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्