जनताको गुनासो सुनेपछि नुवाकोट प्रशासनलाई सांसद लामिछानेको निर्देशन



विदुर, साउन ११ — नुवाकोटमा सर्वसाधारणले सेवा प्रवाहमा ढिलासुस्ती र विभिन्न जनसरोकारका समस्या उठाएपछि प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने नेतृत्वको टोलीले सरकारी निकायलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आयोजित अन्तरक्रियामा विकास निर्माण, सुशासन, पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह, शान्ति–सुरक्षा, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवासँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा गल्छी–देवीघाट–रसुवागढी सडकअन्तर्गत गंगटे–ढुङ्गे खण्डको निर्माण प्रगति, मुआब्जा वितरण, सार्वजनिक यातायातको भाडादर, रातिको समयमा नदी तथा खोलाबाट हुने ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा तस्करी, लागूऔषध दुव्र्यसन नियन्त्रण, वर्षायाममा सडक तथा बाढी–पहिरोबाट उत्पन्न समस्या लगायतका विषय उठाइएको थियो।

सांसद डा. लामिछानेले नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन प्रशासन, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले सडक निर्माण, मुआब्जा वितरण, यातायात भाडादरको अनुगमन तथा नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रणमा प्रहरी प्रशासनले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित समस्यालाई प्राथमिकताका साथ समाधान गर्न सम्बन्धित निकाय सक्रिय हुनुपर्ने र कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरे।अन्तरक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेल, नेता जितेन्द्र अर्याल, लक्ष्मी पाण्डेलगायत सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा उठाइएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले व्यक्त गरेको सांसदको टोलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्