एसियाली पारा खेलकुदमा रेनु तामाङको सहभागिता निश्चित



काठमाडौं, साउन ११ — नेपाली पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची–नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने निश्चित भएको छ।

नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीका अनुसार रेनुले बाई–पार्टाइट इन्भिटेसन (वाइल्ड कार्ड) प्राप्त गरेपछि प्रतियोगितामा उनको सहभागिता पक्का भएको हो।

पारा तेक्वान्दो प्रशिक्षक तथा नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाका अनुसार रेनु हाल विश्व वरीयतामा २६औँ तथा एसियाली वरीयतामा १३औँ स्थानमा छिन्।

रेनुले २०८२ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न एसियन युथ गेम्सअन्तर्गत के–४४ महिला ४७ केजीमुनि स्पर्धामा कांस्य पदक जितेकी थिइन्। यसअघि उनले मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप–२०२५ तथा मंगोलियामा आयोजित ११औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

कार्तिक १ देखि ७ गतेसम्म जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदको पारा तेक्वान्दोतर्फ हालसम्म नेपालबाट दुई खेलाडीको सहभागिता सुनिश्चित भएको छ। यसअघि पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन वरीयताका आधारमा छनोट भइसकेकी छन्।

पलेशाले चीनको हाङझाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि नेपालका लागि कांस्य पदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्