आज उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, यात्रा हुनेछ छिटो र सहज
काठमाडौं,साउन ११ । नेपालकै पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तथा अन्य उच्च अधिकारी सहभागी हुनेछन्। उद्घाटनपछि मन्त्री, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा आवागमन शुभारम्भ गर्ने कार्यक्रम छ।
सुरुको चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिन सुरक्षा र ट्राफिक व्यवस्थापनको परीक्षण गरिएपछि सबै वर्गका सवारीसाधन सञ्चालनमा ल्याइने जनाइएको छ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने व्यवस्था गरिएको छ।
कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुङ्गा खण्डको जाम, उकालो र घुमाउरो सडकबाट हुने सास्ती घट्ने तथा यात्राको करिब एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ।
सडक विभागका अनुसार नियमित सञ्चालनपछि कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ भने ठूला बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोलियम पदार्थ, ग्यास वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन। मुख्य सुरुङसँगै उद्धारका लागि छुट्टै सुरुङ पनि निर्माण गरिएको छ। सुरुङभित्र दमकल, आकस्मिक उद्धार प्रणाली, सिसीटिभी क्यामेरा, सञ्चार सुविधा, अक्सिजन प्रवाह तथा अन्य आधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ।
चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका स्थित सिस्नेखोलामा निस्कनेछ। जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस आयोजनामा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ।
निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी र अन्य प्राविधिक चुनौतीका कारण आयोजनाको अवधि लम्बिएको थियो। अब सुरुङमार्ग सञ्चालनमा आएपछि विद्युतीय माध्यमबाट शुल्क तिर्न सकिने व्यवस्था समेत गरिएको छ।

