बिजुलीमा आत्मनिर्भरता थप मजबुत, भारतबाट आयात शून्य रहँदा २२ हजार मेगावाट घण्टा ऊर्जा निर्यात
काठमाडौँ,साउन ११ । नेपाल विद्युत् प्राधिकरणले देशको विद्युत् आपूर्ति प्रणाली सहज रहेको जनाउँदै हाल भारतबाट कुनै पनि बिजुली आयात नगरेको जनाएको छ। बरु स्वदेशमा उत्पादन भएको अतिरिक्त ऊर्जा भारततर्फ निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा पुगेको छ भने हाल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात भइरहेको छ। निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीहरूले १७ हजार १०८ मेगावाट घण्टा र प्राधिकरणका आफ्नै आयोजनाबाट आठ हजार ९५९ मेगावाट घण्टा बराबर ऊर्जा उपलब्ध गराएका छन्।
हाल कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा रहेको छ भने साँझको समयमा अधिकतम माग तीन हजार २४८ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
लगातारको वर्षाका बीच पनि देशभर विद्युत् आपूर्तिमा कुनै अवरोध नरहेको प्राधिकरणले स्पष्ट पारेको छ। सम्भावित समस्या समाधानका लागि सातवटै प्रदेश कार्यालय तथा काठमाडौँमा मर्मतसम्भार टोली र प्राविधिक जनशक्ति चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

