आत्मदाह प्रयासपछि गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु



कैलाली,साउन ११ । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी गम्भीर घाइते हुनुभएको थियो। उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका लागि भर्ना गरेका थिए।

सेती प्रादेशिक अस्पतालबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिए पनि आफन्तले उहाँलाई सिधैँ काठमाडौँ लैजाँदै गरेका थिए। तर, आज बिहान उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो।घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्