सुनसरीमा अनिश्चितकालीन कर्फ्यु, आदेश उल्लंघन गरे एक महिनासम्म कैद हुन सक्ने



सुनसरी,साउन १२ — जिल्लाको सुरक्षा अवस्था र शान्ति–सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सुनसरीले गए राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश लागू गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार पूर्वतर्फ इनरुवा नगरपालिका–३ र ६ को सीमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गबाट उत्तर र दक्षिण दुवैतर्फ २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू रहनेछ।

कर्फ्यु अवधिभर उक्त क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा कुनै पनि प्रकारको जमघट गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्