डा. केसीको अनशन पाँचौँ दिनमा टुंगियो, सरकारसँग सात बुँदे सहमति
धनगढी,साउन १२ । धनगढीमा पाँच दिनदेखि आमरण अनशनमा रहनुभएका प्रा. डा. गोविन्द केसीले सरकारसँग सात बुँदे सहमति भएपछि सोमबार राति अनशन तोड्नुभएको छ।
डा. केसीले अघि सार्नुभएका पाँच बुँदे माग सम्बोधन गर्ने सहमतिसहित सरकार र उहाँका प्रतिनिधिबीच सात बुँदे सहमति भएको हो। सहमतिपछि उहाँले अनशन अन्त्य गर्नुभएको हो।
सहमति जुटाउन आइतबार र सोमबार दुई दिनसम्म सरकार र डा. केसी पक्षबीच वार्ता भएको थियो। सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा सचिव चूडामणि पौडेल वार्तामा सहभागी हुनुभएको थियो।
त्यसैगरी, डा. केसीको तर्फबाट डा. पवन थापा र अमृत जैसीले प्रतिनिधित्व गर्नुभएको थियो। वार्तामा प्रतिनिधिसभा सदस्य पुकार बमको पनि उपस्थिति रहेको थियो। सरकार र डा. केसीबीच भएको सहमतिसँगै पाँच दिनदेखि जारी अनशन अन्त्य भएको छ।

