अब केही मिनेटमै धादिङ–काठमाडौँ, सञ्चालनमा आयो नागढुङ्गा सुरुङमार्ग



काठमाडौं, साउन १२ — बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएको छ। सुरुङमार्ग उद्घाटनसँगै नेपाल आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको छ भने धादिङको सिस्नेखोला र काठमाडौंको बलम्बुबीचको यात्रा अब केही मिनेटमै पूरा हुने भएको छ।

२०७६ कात्तिकदेखि निर्माण सुरु भएको यो राष्ट्रिय गौरवको आयोजना करिब ८० महिनापछि सञ्चालनमा आएको हो। यसले नागढुङ्गा–थानकोट सडकखण्डको जाम, जोखिमपूर्ण घुम्ती र पहिरोको समस्या कम हुने अपेक्षा गरिएको छ।

सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीका लागि दस्तुर पनि निर्धारण गरेको छ। कार, भ्यान र हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ भने अन्य सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ।

करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको २.६८ किलोमिटर लामो मुख्य सुरुङमार्गसँगै आपत्कालीन उद्धारका लागि छुट्टै सुरुङ पनि निर्माण गरिएको छ।

उद्घाटन कार्यक्रममा नेपाल र जापानका अधिकारीहरूले यसलाई दुई देशबीचको मित्रता र नेपालको पूर्वाधार विकासको ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्