लगातार दुई दिनदेखि बढ्दो क्रममा रहेको सुनको मूल्यमा ठूलो गिरावट



काठमाडौं,साउन १२ । लगातार दुई दिन बढ्दो क्रममा रहेको सुनको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

हिजो सोमबार भने छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ र सोमबार थप १ हजार ४ सय रुपैयाँले बढेको थियो। लगातारको वृद्धिपछि आज भने बजारमा सूनको मूल्य ओरालो लागेको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा १३५ रुपैयाँ कम हो। सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्