सुर्खेतमा जिप दुर्घटना, १२ घाइते; चारको अवस्था गम्भीर
सुर्खेत, साउन १२ — सुर्खेतको लेकवेशी नगरपालिकास्थित हलकन्डराको उकालोमा यात्रुवाहक जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार दिउँसो लेकवेशी नगरपालिका–स्थित डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे. १ ख ५४० नम्बरको मुस्ताङ जिप वडा नम्बर ५ र ६ को बीचमा पर्ने हलकन्डराको उकालोमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनामा लेकवेशी नगरपालिका–६ की २२ वर्षीया सुष्मा कार्की, २६ वर्षीया तिल्सरा सिरिस, ७० वर्षीया अमृता कार्की र ७० वर्षीया खगिसरा विक गम्भीर घाइते भएका छन्। उनीहरूको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार अन्य चार जनाको अवस्था मध्यम र चार जनाको अवस्था सामान्य छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

