बाजुराको अर्ग्यानिक स्याउ बजारमा, बगैँचामा पर्यटकको चहलपहल
बाजुरा,साउन १२— बाजुरामा उत्पादन हुने अर्ग्यानिक स्याउ बजारमा आउन तयार भएसँगै किसानका स्याउ बगैँचामा चहलपहल बढ्न थालेको छ। केही जातका स्याउ पाकिसकेका छन् भने अधिकांश जात भदौको सुरुआतसम्म बजारमा पठाउन योग्य हुने तयारीमा छन्।
स्थानीय उपभोक्ता तथा आन्तरिक पर्यटकहरू स्याउ बारीमै पुगेर ताजा स्याउ खाने, खरिद गर्ने तथा फोटो–भिडियो खिच्ने क्रम उल्लेख्य रूपमा बढेको छ। बुढिनन्दा नगरपालिका–स्थित पाण्डुसैन, स्वामिकार्तिक खापर गाउँपालिकाका जुकोट र साप्पाटा तथा जगन्नाथ गाउँपालिकाको लेकाली क्षेत्रका स्याउ बगैँचाहरू यतिबेला आकर्षणको केन्द्र बनेका छन्। हरियाली बगैँचामा राताम्मे हुँदै गएका स्याउले बाहिरबाट आउने पर्यटकलाई समेत लोभ्याइरहेका छन्।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने केही जातका स्याउ पूर्ण रूपमा पाकिसकेका छन्। अनुकूल मौसमका कारण यस वर्ष स्याउ उत्पादन पनि उत्साहजनक रहने अपेक्षा गरिएको केन्द्रले जनाएको छ।
बुढिनन्दा नगरपालिका–९ पाण्डुसैनस्थित सहारा स्याउ गार्डेनका सञ्चालक पुरबहादुर रावतका अनुसार पछिल्ला दिनमा ग्राहकहरू बगैँचामै पुगेर स्याउ खरिद गर्ने र ताजा स्याउको स्वाद लिन आउने क्रम बढेको छ। सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको उहाँले बताउनुभयो।
उच्च हिमाली क्षेत्रमा न्यून रासायनिक विषादी प्रयोग गरी प्राकृतिक वातावरणमा उत्पादन हुने भएकाले बाजुराको स्याउ स्वादिलो, गुणस्तरीय र अर्ग्यानिक मानिन्छ। यही विशेषताका कारण बाजुराको स्याउ हरेक वर्ष उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको किसानहरूको भनाइ छ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। यहाँबाट वार्षिक करिब एक हजार २० मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ। उत्पादन बढ्दै जाँदा स्याउ खेती किसानको आम्दानीको महत्वपूर्ण आधार बन्दै गएको छ।

