विद्यालयको आवासीय भवनमा शिक्षिकाको शव भेटियो, श्रीमान् सम्पर्कविहीन
झापा,साउन १२— झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ढुङ्गाना आफ्ना श्रीमान् पर्साको वीरगञ्ज–१६ निवासी ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालन हुँदा दुवै शिक्षक सम्पर्कमा नआएपछि खोजी गरिएको थियो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको र फोन सम्पर्कसमेत हुन नसकेपछि चिन्ता बढेको थियो।
प्रधानाध्यापक लुइँटेलका अनुसार सोमबार बेलुका करिब ४ः३० बजे रतन गुप्ताले वाट्सएपमार्फत सन्देश पठाउँदै श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिँदै मृत्युको कारण खुलिनसकेको बताउनुभयो। उहाँका अनुसार शव परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ भने सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजी पनि भइरहेको छ।

