चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पताल सुनसान, ६५ चिकित्सकको सामूहिक राजीनामा



वीरगञ्ज,साउन १२ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोध चर्किँदै जाँदा अस्पतालको सेवा नै प्रभावित भएको छ। दैनिक सयौँ बिरामीको उपचार हुने अस्पताल अहिले सुनसान बनेको छ भने बहिरङ्ग सेवा बन्दजस्तै हुँदा उपचारका लागि आउने सेवाग्राहीहरू समस्यामा परेका छन्।

शनिबार आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको थियो। सोही क्रममा ड्युटीमा रहेका डा. प्रमोद राममाथि निर्घात कुटपिट भएको थियो। गम्भीर घाइते डा. रामको हाल काठमाडौँमा उपचार भइरहेको छ।
घटनाको विरोधमा आन्दोलनरत नारायणी अस्पतालका ६५ जना चिकित्सकले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। चिकित्सकहरूले सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म चरणबद्ध रूपमा राजीनामा दिएका हुन्।

यसैबीच सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा भएको वार्ता पनि निष्कर्षविहीन बनेको छ। आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको राजीनामा माग गरेपछि विवाद थप चर्किएको हो।

वार्ता छाडेर बाहिरिन लागेका चिकित्सकहरूलाई एसपी पाठकले धक्कामुक्की गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा फर्काएको चिकित्सकहरूको आरोप छ। घटनापछि आन्दोलन झन् उग्र बनेको छ भने अस्पतालको नियमित सेवा सञ्चालन अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्