नुवाकोटका १२ स्थानीय तहलाई ४८३ मेट्रिक टन युरिया मलको कोटा
नुवाकोट, साउन १२ — कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूली कार्यालयले नुवाकोटका १२ स्थानीय तहका लागि ४८३ मेट्रिक टन (९ हजार ६ सय ६० बोरा) युरिया मलको कोटा निर्धारण गरेको छ।
बागमती प्रदेश मल वितरण व्यवस्थापन समितिको साउन ८ गतेको निर्णयअनुसार नुवाकोटका स्थानीय तहलाई सो संख्यामा कोटा तोकिएको हो।
कार्यालय प्रमुख विज्ञान भट्टराईद्वारा जारी पत्रमा प्रत्येक स्थानीय तहले आफ्नो सिफारिसमा दर्ता भएका विक्रेता तथा सहकारी संस्थालाई निर्धारित कोटाभित्र रही मल वितरणका लागि सिफारिस पठाउन आग्रह गरिएको छ। यसअघि लगिएको मलको अनलाइन बिक्री विवरण अनिवार्य रूपमा प्रविष्ट गरी स्थानीय मल वितरण व्यवस्थापन समितिबाट प्रमाणित गराएर मात्र सिफारिस पठाउनुपर्ने व्यवस्था गरिएको छ।
पत्रअनुसार सिफारिस प्राप्त विक्रेताले अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम १५ दिनभित्र बिल काटी मल उठाइसक्नुपर्नेछ। तोकिएको अवधिभित्र मल नउठाए कार्यविधिअनुसार प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।जिल्लाका स्थानीय तहहरूमध्ये बेलकोटगढी नगरपालिकाले सबैभन्दा बढी ७४ मेट्रिक टन (१ हजार ४ सय ८० बोरा) र विदुर नगरपालिकाले ६० मेट्रिक टन (१ हजार २ सय बोरा) युरिया मल पाउने भएका छन्।
त्यसैगरी पञ्चकन्या गाउँपालिकालाई ५३ मेट्रिक टन, ककनी गाउँपालिकालाई ४८ मेट्रिक टन, तादी गाउँपालिकालाई ४० मेट्रिक टन, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकालाई क्रमशः ३८ र ३७ मेट्रिक टन, तारकेश्वर, म्यागङ र शिवपुरी गाउँपालिकालाई समान ३०–३० मेट्रिक टन, दुप्चेश्वर गाउँपालिकालाई २४ मेट्रिक टन तथा किस्पाङ गाउँपालिकालाई १९ मेट्रिक टन युरिया मलको कोटा निर्धारण गरिएको छ।
कृषि सामग्री कम्पनीले पालिकाभित्र रहेका विक्रेता तथा सहकारीहरूलाई बाँडफाँट गरिएको कोटाको विवरण फर्टिलाइजर व्यवस्थापन प्रणालीमा प्रविष्ट गरिसकेका र विवरण मिलान भएका सहकारीलाई मात्र सिफारिस गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
साथै, अनुदानको मल कम्पनीको विक्रेता व्यवस्थापन कार्यविधि, २०८२ तथा मन्त्रालयको मल वितरण व्यवस्थापन कार्यविधिअनुसार सर्वसुलभ रूपमा वितरण भए–नभएको नियमित अनुगमन गर्न पनि स्थानीय तहलाई आग्रह गरिएको छ।

