क्यान्सरसँगको लामो संघर्षपछि कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन



काठमाडौं, साउन १२ — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उनको आज काठमाडौंको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिएका छन्।

स्वर्गीय श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने कार्यक्रम तय गरिएको छ।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि पार्थिव शरीरलाई शवयात्रासहित पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ। वरिष्ठ नेता श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र प्रभावशाली नेतालाई गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्