सेयर बजारमा सामान्य गिरावट, कारोबार साढे चार अर्ब रुपैयाँ नाघ्यो



काठमाडौं, साउन १२ । धितोपत्र बजारमा आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। आज नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९६ दशमलव ६७ बिन्दुमा कायम भएको हो।

आज ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले घटेर ४७० दशमलव ७९ मा पुगेको छ। त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८५ दशमलव २२ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १८ अङ्कले घटेर १५९ दशमलव ७० बिन्दुमा झरेको छ।

नेप्सेका अनुसार आज विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३ कित्ता सेयर चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढ्दा नौ उपसमूहको सूचक घटेको छ। आज ९८ कम्पनीको सेयर मूल्य बढेको, १६६ कम्पनीको घटेको तथा १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष र गरिमा समृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। विपरीत रूपमा कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी बेहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्