हिंसाले समाधान दिँदैन, संयम अपनाउन रवि लामिछानेको आग्रह



काठमाडौं, साउन १२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई उच्च संयम अपनाउन आग्रह गरेका छन्।

मंगलबार जारी विज्ञप्तिमार्फत उनले घटनाले सिर्जना गरेको तनावपूर्ण अवस्थाप्रति आफू र पार्टी मर्माहत भएको जनाउँदै कुनै पनि समस्याको समाधान हिंसा, मुठभेड वा उत्तेजनाबाट सम्भव नभएको बताएका छन्। उनले अफवाहको पछि नलागी शान्ति र संयम कायम राख्न सबैमा अपिल गरेका छन्।

लामिछानेले रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई सामान्य बनाउन तथा आपसी संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टी सकारात्मक भूमिका खेल्न तयार रहेको बताएका छन्।

उनले घटनालाई राजनीतिक रंग नदिन पनि सबै पक्षसँग आग्रह गरेका छन्। सुनसरीको देवानगञ्जमा आइतबार साँझ दुई समुदायबीच उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन्। यही पृष्ठभूमिमा सभापति लामिछानेले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्