ट्रकको ठक्करबाट तीन जनाको मृत्यु, एक घाइते
कपिलवस्तु,साउन १३— कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। अस्पतालका चिकित्सकले तीमध्ये तीन जनालाई मृत घोषणा गरेका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमा दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

