आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धा व्यक्त गर्दै देशभर विविध कार्यक्रम
काठमाडौँ,साउन १३ । आषाढ शुक्ल पूर्णिमाका दिन आज ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै देशभर गुरु पूर्णिमा पर्व मनाइँदैछ। विद्यालय, गुरुकुल, धार्मिक तथा सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी गुरुहरूको योगदानको सम्मान गरिरहेका छन्।
धार्मिक शास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। यसै कारण शास्त्रमा गुरुको स्थान ब्रह्मा, विष्णु र महेश्वरसरह उच्च रहेको उल्लेख गरिएको छ। ‘आचार्यदेवो भव’ भन्ने मान्यताअनुसार माता–पितासँगै गुरुलाई पनि देवतासमान सम्मान गर्ने परम्परा रहेको छ।
गुरु पूर्णिमाकै दिन वेदलाई चार भागमा विभाजन गर्ने तथा १८ पुराण, १८ उपपुराण र महाभारतका रचनाकार महर्षि वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले मानवतावादी सन्देशका रूपमा परोपकारलाई पुण्य र अरूलाई पीडा दिनुलाई पाप मान्ने शिक्षा दिनुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
यस अवसरमा देशभरका गुरुकुल, शिक्षालय र विभिन्न संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्। नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गुरु पूर्णिमाको महत्वबारे चर्चा गरिने फाउन्डेसनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिनुभएको छ।

