वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध



काठमाडौँ,साउन १३ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ८ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राखी बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यातायात ठप्प भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्ड पनि त्रिशूली नदीले सडक कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ स्थित घोराही–थवाङ शहीद राजमार्गमा बिहान सुक्खा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्थित बेँसीसहर–च्यामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्