सुनसरीको तनावप्रति प्रचण्डको चिन्ता, संवाद र सहमतिबाट समाधान खोज्न आग्रह
काठमाडौँ,साउन १३। सिंहदरबारमा जारी सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
उहाँले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताउनुभयो। विगतमा भूकम्प, बाढी–पहिरो जस्ता विपद्का समयमा तथा संविधान निर्माणका क्रममा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै उहाँले अहिले पनि त्यस्तै राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो।
पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रश्न उठाउनुभयो। सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई भने उहाँले धन्यवाद दिनुभयो।
सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताउनुभयो। संसद्मा पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो।
प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने भन्दै संवाद, सहमति र राजनीतिक समझदारीबाटै परिस्थितिलाई सहज बनाउन सकिने धारणा राख्नुभयो।
उहाँले आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिएको जानकारी दिनुभयो।
घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाह्य रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने उहाँले बताउनुभयो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उहाँको धारणा थियो।
“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,” उहाँले भन्नुभयो।
प्रचण्डले सबै राजनीतिक दल, सरकार तथा सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भई अघि बढ्न आग्रह गर्नुभयो।

