टेलिकमका टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन



काठमाडौँ,साउन १३ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

सञ्चार मन्त्रालयमा आज आयोजित अन्तरनिकाय छलफलमा मन्त्री तिमिल्सिनाले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच प्रभावकारी समन्वय गरी टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न निर्देशन दिनुभएको हो।

छलफलमा नेपाल टेलिकमका बेस ट्रान्ससिभर स्टेशन, टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नहुँदा विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित हुने गरेको विषयमा समीक्षा गरिएको थियो।

मन्त्री तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताउँदै समस्या पहिचानमा मात्र सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न आग्रह गर्नुभयो। उहाँले टेलिकमका टावरमा विद्युत् पहुँच पुर्‍याउन तीनवटै निकायबीच स्थायी समन्वय प्रणाली विकास गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न कार्य समूह गठन गर्नसमेत निर्देशन दिनुभयो।

उहाँले चौथो पुस्ताको दूरसञ्चार सेवा गुणस्तरीय बनाउँदै पाँचौँ पुस्ताको सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयो। दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

त्यसैगरी, काठमाडौँ उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताउनुभयो। सहरी सौन्दर्य र सुरक्षित पूर्वाधार निर्माणका लागि तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो।

छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले विद्युत् पहुँचको अभाव दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको प्रमुख चुनौती बनेको बताउनुभयो। उहाँका अनुसार हाल नेपाल टेलिकमका ३१६ वटा टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध छैन र ती टावर सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेका छन्।

नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिँदै पहाडीले तीमध्ये करिब एक हजार चार सय टावरमा नेपाल विद्युत् प्राधिकरणबाट नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। सञ्चालनमा रहेका कतिपय टावरमा समेत कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।

नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा नयाँ टावर निर्माण हुने स्थानमा विद्युत् पूर्वाधारसमेत सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा जोड दिएका छन्।

प्राधिकरणले कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण लाइनको क्षमता विस्तारलाई प्राथमिकता दिने जनाएको छ। त्यस्तै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दुर्गम तथा ग्रामीण क्षेत्रमा लघु जलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकमका टावरमा विद्युत् उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्