बञ्चरेडाँडाको फोहर व्यवस्थापन सुधार्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन



काठमाडौँ,साउन १३ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन र समन्वय गर्न निर्देशन दिनुभएको छ।

सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ इन्जिनियर रूपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधिसहितको सहभागिता थियो।

छलफलमा बञ्चरेडाँडा फोहर विसर्जनस्थल पुग्ने सडकको जीर्ण अवस्था, फोहरबाट फैलिने दुर्गन्ध, फोहर बोकेका सवारीसाधन नछोपेर सञ्चालन गर्ने, बाटोमै फोहर खसाल्ने तथा फोहर विसर्जनपछि सवारीसाधन नधोई फर्काउनेजस्ता स्थानीयवासीका गुनासाबारे छलफल भएको थियो। फोहर विसर्जनपछि पर्याप्त मात्रामा माटोले छोप्ने काममा समेत लापरबाही भइरहेको स्थानीयको गुनासो छ।

मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडामा भइरहेको फोहर व्यवस्थापनको नियमित तथा छड्के अनुगमन गर्न निर्देशन दिनुहुँदै स्थानीयवासीका गुनासो तत्काल सुनुवाइ हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो।उहाँले बञ्चरेडाँडा पुग्ने सडक पूर्वाधार जसरी पनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो।

बैठकमा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनको दैनिक अवस्था, कर्मचारी परिचालन, फोहर विसर्जनपछि माटोले ढाक्ने काम तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराएको थियो।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलको दीर्घकालीन व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्रको सङ्ख्या बढाउने तथा फोहर वर्गीकरण र ग्रेडिङ प्रणाली विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो।

महानगरका अनुसार बञ्चरेडाँडामा पुग्ने फोहरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ। स्रोतमै फोहर छुट्याउने अभ्यास प्रभावकारी हुन नसक्दा वर्गीकरणमा समस्या देखिएको र त्यसले फोहर व्यवस्थापनस्थलमा थप चुनौती सिर्जना गरेको महानगरपालिकाको भनाइ छ।

नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा २०७९ जेठ १० गतेदेखि फोहर विसर्जन सुरु गरिएको हो। नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा रहेको उक्त स्थलमा हाल काठमाडौँ उपत्यकासहित २१ स्थानीय तहबाट दैनिक औसत दुई सय ट्रक फोहर विसर्जन हुँदै आएको छ।

बैठकले फोहर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहबीच समन्वय र साझा जिम्मेवारी आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्