मनसुन सक्रिय, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौँ,साउन १३ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आगामी तीन दिनसम्म विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपास तथा पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।

आज बुधबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

बिहीबार र शुक्रबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै, पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा बाढीको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्