सुनसरीको शान्ति–सुरक्षा कायम गर्न उच्च सतर्कताका साथ परिचालन हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ,साउन १३। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ ।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो अवस्था, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । ब्रिफिङमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति थियो ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वमाथि कडा निगरानी राख्न निर्देशन दिनुभएको दाहालले बताउनुभयो ।
उहाँले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिनुभएको जनाइएको छ ।

