कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण
कर्णाली, साउन १४ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
बुधबार वीरेन्द्रनगरमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
शाही नेकपा एमालेको समर्थनमा मङ्गलबार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। शपथ ग्रहणलगत्तै उहाँले बुधबार नै मुख्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ।
शपथ ग्रहण समारोहमा प्रदेशसभाका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीहरू यामलाल कँडेल, जीवनबहादुर शाही र राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभा सदस्य, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

