कमजोर ब्याटिङले नेपाल फेरि पराजित, नेदरल्यान्ड्ससँग ५७ रनको हार
काठमाडौँ,साउन १४ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। योसँगै नेपालले लिग–२ मा लगातार चौथो हार व्यहोरेको छ।
नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १ सय ६८ रनमै अलआउट भयो। लगातार चार खेलमा नेपाली ब्याटिङ कमजोर देखिएपछि युरोपेली मैदानको कन्डिसनमा नेपाली टोलीको ब्याटिङ क्षमतामाथि प्रश्न उठेको छ।
नेपालको सुरुआत नै खराब रह्यो। कुशल भुर्तेल इनिङ्सको तेस्रो बलमै आउट हुँदा नेपालको रनको खाता खुलेको थिएन। वान डाउनमा आएका भीम सार्की १० रनमा आउट भए। इशान पाण्डेले १६ रन बनाएर आउट हुँदा नेपाल ५० रनमा पुगेको थियो।
त्यसपछि आशिफ शेखले ३८ रन बनाए पनि उनी चौथो विकेटका रूपमा आउट भए। दीपेन्द्रसिंह ऐरीबाट ठूलो अपेक्षा गरिए पनि उनी ६ रनमै एलबिडब्लू धरापमा परे। १ सय ४ रनको अवस्थामा पाँचौँ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो।
कप्तान रोहित पौडेलले २६, आरिफ शेखले ८ र गुल्सन झाले ११ रन बनाए। करण केसीले २३ रन जोड्दा हेमन्त धामी १५ रनमा अविजित रहे। तर निरन्तर विकेट गुमाउँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन।
नेदरल्यान्ड्सका काइली क्लेनले ८ ओभरमा २६ रन खर्चेर तीन विकेट लिए। लोगान भान, रिलोफ भान र जाच लियनले समान दुई विकेट लिए। यसअघि टस जितेर नेपालले नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएको थियो। नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय २५ रन बनायो।
नेदरल्यान्ड्सको सुरुआत भने निकै खराब थियो। सेड्रिक डु लाङ्गे इनिङ्सको पहिलो बलमै करण केसीको बलमा आउट भए। म्याक्स ओ डाउड १२ र जाच लियन–काचेट १६ रनमा आउट हुँदा नेदरल्यान्ड्सले ३० रनमै तीन विकेट गुमाएको थियो।
बास डि लिड्स १३ रनमा आउट भएपछि कप्तान स्कट एडवार्डस र नोआ कोर्सले छैटौँ विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। दुवैले अर्धशतक बनाए। स्कट ५७ रनमा आउट भए भने नोआ ७० रन बनाएर रन आउट भए। लोगान भान बिक २७ रनमा अविजित रहे।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा दुई मेडनसहित ३० रन खर्चेर चार विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा हेमन्त धामी र ललितनारायण राजवंशीले समान एक विकेट लिए।
लगातार तीन खेल हारेपछि नेपालले यस खेलमा प्लेइङ–११ मा दुई परिवर्तन गरेको थियो। सन्दीप लामिछाने र सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशी र हेमन्त धामीलाई खेलाइएको थियो। तर टोलीको खराब ब्याटिङका कारण रणनीतिमा परिवर्तन गरे पनि नतिजा बदलिन सकेन।
यो हारसँगै ३२ खेल खेलेको नेपालले १९औँ हार व्यहोरेको छ।नेपाल २४ अंकसहित लिग–२ को छैटौँ स्थानमा छ। नेदरल्यान्ड्सले जितसँगै ३८ अंक पुर्याएको छ। स्कटल्यान्डसँग समान अंक भए पनि रनरेटका आधारमा नेदरल्यान्ड्स दोस्रो स्थानमा उक्लिएको छ।

