चिकित्सक सङ्घसँग पाँचबुँदे सहमति, स्वास्थ्य सेवा सुचारु
काठमाडौँ, साउन १४ । आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारबिच पाँचबुँदे सहमति भएपछि देशभर प्रभावित स्वास्थ्य सेवा सुचारु भएको छ।
वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। सहमतिपछि दुई दिनदेखि प्रभावित आकस्मिकबाहेकका बहिरङ सेवा सञ्चालनमा आएका छन्।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमै विधेयक दर्ता गर्ने प्रक्रिया अघि बढाउने भएको छ।
नारायणी अस्पताल घटनामा संलग्नमाथि कानुनअनुसार कारबाही गर्ने तथा स्वास्थ्य सेवासम्बन्धी उपभोक्ता संरक्षण ऐनका व्यवस्था पुनरवलोकन गर्न सात दिनभित्र चिकित्सक सङ्घको सहभागितामा कार्यदल गठन गर्ने सहमति पनि भएको छ।
सरकार र चिकित्सक सङ्घले सहमतिका सबै बुँदा समयबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

