नुवाकोट शिवपुरी–५ मा पहिरोको जोखिम: जाली पर्खालसहित खसेको पहिरोले घरमा क्षति, गोठ पुरियो
नुवाकोट,साउन १४ । लगातारको वर्षापछि नुवाकोटको शिवपुरी गाउँपालिका–५, नेपानेमा सडक छेउको जाली पर्खालसहित पहिरो खस्दा स्थानीय रुपबहादुर लामाको घरमा ठूलो क्षति पुगेको छ।
पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने तल्लो बस्तीसमेत उच्च जोखिममा परेको स्थानीयले बताएका छन। पहिरोले घरसँगै रहेको गोठ पुरिँदा एउटा भैँसी मरेको छ भने अर्को भैँसी घाइते अवस्थामा रहेको जनाइएको छ। घरमा राखिएका १० वटा मौरीका घारसमेत पहिरोले पुरेको छ। खोरको ढोका पहिरोको धक्काले फुटेपछि बाँधिएका बाख्राहरु भने बाहिर निस्केर जोगिन सफल भएका छन् ।
स्थानीयका अनुसार घटनाबाट घर, पशुचौपाया तथा अन्य सम्पत्तिसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शेराबगरका प्रमुख आश गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अवस्था बुझेको थियो।
पहिरो शिवपुरी–५ हुँदै दुप्चेश्वर जाने पक्की सडकको जाली पर्खालसहित खसेको हो। पहिरो प्रभावित घरभन्दा केहि तल रहेको बस्ती थप जोखिममा रहेकाले तत्काल रोकथाम तथा संरक्षणका काम अघि नबढाइए ठूलो क्षति हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यता, वर्षासँगै विभिन्न स्थानमा पहिरो झर्दा सडक अवरुद्ध भए पनि निर्माण कम्पनीको जेसिबी प्रयोग गरी बिहानै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।

