मलखाद बोकेको बोलेरो दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते



दाङ, साउन १५ — दाङको गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका–६ पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मियाले चलाइरहेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दाङको गढवा गाउँपालिका–६ गढवा बजारका २६ वर्षीय सागर कुमालको उपचारका क्रममा मृत्यु भएको हो। टाउकोमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित एक नर्सिङ होममा रिफर गरिएकोमा बुधबार राति करिब ११ः१५ बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको लमही अस्पतालमा उपचारपछि अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको छ।घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्