देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन १४— देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, बागमती, लुम्बिनी र गण्डकीका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका केही स्थान, मधेस तथा लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहिरोको जोखिम रहने भन्दै सतर्क रहन आग्रह गरेको छ।

