तराईको तनावबीच रास्वपाका सांसदलाई रवि लामिछानेको निर्देशन



काठमाडौँ,साउन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका पार्टीका सांसदलाई सामाजिक सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन तथा अवस्था सामान्य बनाउन सक्रिय समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।

सुनसरीलगायत तराईका विभिन्न जिल्लामा पछिल्लो समय विकसित भएको विषम परिस्थिति र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पार्टीको आवश्यक रणनीति तय गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित अनौपचारिक बैठकमा सभापति लामिछानेले उक्त निर्देशन दिनुभएको हो।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठकमा कोशी र मधेस प्रदेशका पार्टीका सांसदहरूको सहभागिता रहेको थियो। बैठकमा सभापति लामिछानेले संवेदनशील परिस्थितिमा नागरिकबीचको भाइचारा, सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न जनप्रतिनिधिले जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा विशेष जोड दिनुभएको जनाइएको छ।

पार्टीले वर्तमान परिस्थितिमा संवाद, समन्वय र सामाजिक एकतालाई प्राथमिकतामा राख्दै जनप्रतिनिधिमार्फत स्थानीय तहसम्म सकारात्मक सन्देश प्रवाह गर्ने रणनीति अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्