सिरहामा झडप उग्रिँदा गोली लागेर किशोरको मृत्यु, गोलबजार र लहानमा अनिश्चितकालीन कर्फ्यु



सिरहा,साउन १४ । सिरहाको गोलबजार क्षेत्रमा भएको झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु भएको छ। घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेसँगै स्थानीय प्रशासनले गोलबजार र लहान नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

झडपका क्रममा गम्भीर घाइते भएका औरही गाउँपालिका–२, तुलसीपुरका १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार बिहानदेखि नै गोलबजार क्षेत्रमा तनाव बढेपछि हुलदङ्गा नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको थियो।

यसैबीच, लहान नगरपालिकामा पनि प्रदर्शन र हुलदङ्गा बढ्न थालेपछि स्थिति नियन्त्रणमा लिन अपराह्न ४ बजेदेखि त्यहाँ पनि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनका अनुसार लहानस्थित पूर्व–पश्चिम राजमार्गको पूर्वमा बलान खोलादेखि पश्चिममा सरस्वती खोलासम्म तथा राजमार्गको उत्तर–दक्षिण ५०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको छ। कर्फ्यु अवधिभर उक्त क्षेत्रमा आवतजावत, भेला, प्रदर्शन, सभा तथा जुलुस गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति तथा सुरक्षा कायम राख्न सुरक्षा निकाय परिचालन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्