मधेशको अवस्था सामान्य बनाउन सुरक्षा संयन्त्र परिचालन, निष्पक्ष छानबिन हुने : प्रधानमन्त्री
काठमाडौँ,साउन १४ — प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरिने बताएका छन्।
बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै सरकारले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने बताएका हुन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिए। छानबिन प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष र पारदर्शी बनाइने तथा दोषीलाई उन्मुक्ति नदिइने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले मधेशको सुरक्षा अवस्था सामान्य बनाउन तथा थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए।
उनले नागरिकलाई संयमित रहन, अफवाहको पछि नलाग्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्नसमेत आग्रह गरेका छन्।

