नुवाकोटका शिक्षक दलबीर शार्कीको निधन, विद्यालय शोकमा



नुवाकोट, साउन १४ — नुवाकोटको लिखु गाउँपालिका–३ स्थित श्री निरन्जना आधारभूत विद्यालयमा कार्यरत शिक्षक दलबीर शार्कीको निधन भएको छ।

ट्युबरकुलर मेनेन्जाइटिसबाट पीडित २७ वर्षीय शार्कीको भारतको लखनउमा उपचारपछि थप उपचारका लागि बुधबार दिल्ली हुँदै काठमाडौंस्थित न्युरो अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

कालिकोटको पचालझरना गाउँपालिका–८, मयकोटका स्थायी बासिन्दा शार्की २०७९ सालमा शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भई नुवाकोटमा स्थायी शिक्षकका रूपमा नियुक्त भएका थिए। उनले श्री निरन्जना आधारभूत विद्यालयमा इमान्दारी, समर्पण र जिम्मेवारीका साथ अध्यापन गर्दै विद्यार्थी, अभिभावक र सहकर्मीमाझ असल शिक्षकको छवि बनाएका थिए।

उनको निधनले विद्यालय परिवार, स्थानीय समुदाय तथा शिक्षा क्षेत्रमा शोक छाएको छ। विद्यालयका प्रधानाध्यापक सिताराम थपलियाले शार्कीको निधनले विद्यालयले एक समर्पित र कर्मशील शिक्षक गुमाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

यसअघि उनको उपचारका लागि परिवार, आफन्त, सहकर्मी, शुभेच्छुक र स्थानीयवासीले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए। तर उपचारकै क्रममा उनको निधन भएपछि सहयोग अभियान शोकमा परिणत भएको छ।

शिक्षक शार्कीको असामयिक निधनप्रति विद्यालय, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनको तीन सन्तान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्