आज साउन १५ : खीर खाने परम्परा, संस्कृति र स्वास्थ्यको मिठो संगम



काठमाडौँ,साउन १५ । आज साउन १५ अर्थात् नेपाली समाजमा परम्परागत रूपमा खीर खाने दिन। असारभरि रोपाइँको काम सम्पन्न भएपछि खुसीयाली साटासाट गर्दै परिवारका सबै सदस्य एकै ठाउँमा बसेर खीर खाने परम्परा परापूर्वकालदेखि नै चलिआएको छ।

नेपाली समाजमा असार १५ मा दही–चिउरा, साउन १५ मा खीर र भदौ १५ मा पोलेको मकै खाने सांस्कृतिक परम्परा रहँदै आएको छ। विशेषगरी वर्षायाममा खेतबारी हरियाली हुने, गाईभैँसीले प्रशस्त दूध दिने र कृषकले रोपाइँ सम्पन्न गरेपछि विश्राम तथा उत्सवको प्रतीकका रूपमा खीर खाने चलन विकास भएको मानिन्छ।

दूध, स्थानीय जातका चामल, घ्यू, चिनी वा सख्खर तथा नरिवल, काजु, बदाम, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल, मरीच र दालचिनी जस्ता सामग्री मिसाएर बनाइने खीर स्वादिलो मात्र नभई पोषिलो परिकार पनि हो। धार्मिक दृष्टिले पनि खीरलाई शुद्ध भोजनका रूपमा लिइन्छ।

स्वास्थ्यका दृष्टिले खीरलाई ऊर्जा दिने उत्कृष्ट परिकार मानिन्छ। चामलमा पाइने कार्बोहाइड्रेटले शरीरलाई शक्ति प्रदान गर्छ भने दूधबाट क्याल्सियम, भिटामिन ‘ए’ र आवश्यक क्यालोरी प्राप्त हुन्छ। काजु, बदाम र किसमिसले शरीरलाई आवश्यक भिटामिन तथा खनिज उपलब्ध गराउँछन् भने घ्यूले आवश्यक चिल्लो पदार्थको पूर्ति गर्छ।

चिकित्सकहरूका अनुसार वर्षायाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सन्तुलित रूपमा खीर सेवन उपयोगी हुन सक्छ। नरम भोजन भएकाले पाचन प्रणाली कमजोर भएका वा बिरामी व्यक्तिका लागि पनि हल्का खीर उपयुक्त हुन सक्छ। यद्यपि मधुमेह भएका, दूध वा चिनी सेवन गर्न नमिल्ने तथा ग्यास्ट्रिकको समस्या भएका व्यक्तिले भने सावधानी अपनाएर मात्र खीर खानुपर्ने चिकित्सकहरूको सुझाव छ।

नेपाली संस्कृतिमा खीरको महत्व विशेष छ। बालबालिकाको अन्नप्राशन (पास्नी) संस्कारमा पहिलोपटक खुवाइने परिकारदेखि वृद्धवृद्धाका लागि तागतिलो भोजनसम्म खीरलाई विशेष स्थान दिइन्छ।

साउन १५ मा खीर खाने परम्पराले स्वाद र स्वास्थ्य मात्र होइन, परिवारका सदस्य तथा आफन्तबीचको आत्मीयता, एकता र नेपाली मौलिक संस्कृतिको संरक्षणलाई पनि सुदृढ बनाउने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्