भोटेकोशी बाढीपछि खोज तथा उद्धार तीव्र, सेनाको हवाई माध्यमबाट ४ हजार १७७ जनाको उद्धार
नुवाकोट,भदौ ३० । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोटसहितका विभिन्न जिल्लामा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सेनाका हवाई साधनमार्फत प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ४ हजार १७७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा समेत विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा खोजी भइरहेको छ भने चिलिमे हाइड्रोको सुरुङमा पानी आइरहेको ‘होल’ बाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म पुगेर खोजी गरेको छ। सुरुङभित्र थुप्रिएको लेदो तथा भग्नावशेष हटाउन उत्खनन यन्त्र र भारवहन यन्त्र प्रयोग भइरहेको सेनाले जनाएको छ।
त्यस्तै माथिल्लो त्रिशूली–१ को ‘अडिट ३’ मा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिसहितको उद्धार टोली करिब ६०० मिटर भित्रसम्म पुगेर खोजी गरेको छ। त्रिशूली–३ ए को सुरुङ तथा विद्युत् गृह क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ बीमा पनि उत्खनन यन्त्र र भारवहन यन्त्रको प्रयोग गरी खोजी जारी छ। आयोजनाको आवास क्षेत्रमा दुईवटा आवासीय भवनको जग क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ।
रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका प्रभावित क्षेत्रमा सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह परिचालन गरी खोजी भइरहेको छ। साँघुरा सुरुङको निरीक्षण, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कन र सडक सम्पर्कविहीन दुर्गम क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोनको समेत प्रयोग भइरहेको छ।
सेनाका अनुसार ड्रोनमार्फत हालसम्म नुवाकोटका विभिन्न स्थानमा १६ हजार १३८ किलोग्राम र रसुवाका विभिन्न स्थानमा ५ हजार ८६१ किलोग्राम राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा काम गरिरहेका छन्।
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा स्वास्थ्य गस्तीबाट आज ४३ जनाले स्वास्थ्य सेवा लिएका छन्। ती केन्द्रबाट हालसम्म ३ हजार ८२७ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्। नुवाकोटको विदुरस्थित सुरक्षित आवास तथा अस्थायी आवास केन्द्रमा सेनाको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षणसँगै मनोवैज्ञानिक परामर्शसमेत दिएको छ।
यसैबीच बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ शीतलबजार क्षेत्रमा सडक खुलाउने काम जारी छ। सडकतर्फ रहेको कडा चट्टान फुटाउन विस्फोट गराउने काम भइरहेको नेपाली सेनाले जनाएको छ।

