आज गणेश चतुर्थी, देशभर गणेशको विशेष पूजा आराधना



काठमाडौं,भदौ ३० । प्रथम पूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता रहेकाले यस दिन विशेष श्रद्धा र भक्तिपूर्वक गणेशको पूजा गर्ने गरिन्छ।

गणेश चतुर्थीका अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरिएको छ। भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर गणेशको दर्शन तथा पूजा गरेका छन्।

शिवपार्वतीका पुत्र भगवान् गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको धार्मिक मान्यता छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय विधान रहेको छ। गणेश चतुर्थीका अवसरमा आज गणेश रथयात्रासमेत गरिने जनाइएको छ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गर्दै व्रत बसेका वर्तालुले चतुर्थीका दिन जीवनमा कुनै पनि विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। मङ्गल चतुर्थीसमेत भनिने गणेश चतुर्थी यस वर्ष मङ्गलबार परेको छ।

यस पर्वलाई नेवार समुदायले ‘चथा’ पर्वका रूपमा समेत मनाउने गर्छ। यस वर्ष तिथिको घटबढका कारण ऋषिपञ्चमी पर्व पनि आजै परेको छ। गणेशको पूजा आराधना गरेपछि महिलाले खोला, नदी, ताल तथा तलाउमा विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्