बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला खण्ड अवरुद्ध



हुम्ला, भदौ ३० । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध गर्नुका साथै आसपासका खेतीयोग्य जमिन र बालीनालीमा समेत क्षति पुगेको छ ।

सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण आसपासमा लगाइएको बालीनालीसमेत नष्ट भएको स्थानीयले बताएका छन् । सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार थाहा खोलामा आएको बाढीले खेतीयोग्य जमिनमा लगाइएको बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ ।

त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढेपछि बजार क्षेत्र तथा आसपासका क्षेत्रमा समेत समस्या उत्पन्न भएको छ । सर्केगाड बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेसँगै आसपासका क्षेत्रमा जोखिम बढेको हो ।

लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारी साधन सञ्चालन भइरहेका छन् ।

पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमिकोटतर्फ आउने–जाने यात्रुहरू बढी प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयले आवतजावतमा सास्ती खेप्नुपरेको छ ।कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो । वर्षायाममा पहिरोका कारण करिडोर पटक–पटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्