पूर्वाधार विकासमा समन्वय र गुणस्तरमा जोड, नुवाकोटमा जिल्ला स्तरीय अन्तरक्रिया



विदुर, श्रावण १५ — नुवाकोटमा पूर्वाधार विकासका उपलब्धि, चुनौती र सुधारका उपायबारे जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित रेडियो नुवाकोट एफएम १०६.८ मेगाहर्जको आयोजनामा बिहीबार भएको कार्यक्रममा विकास आयोजनालाई दिगो, गुणस्तरीय र जनमुखी बनाउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको हो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. अच्चुतम लामीछानेले विकास आयोजनामा पारदर्शिता, गुणस्तर, समयपालना र जनसहभागितालाई प्राथमिकता दिनुपर्ने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि कानुनी प्रक्रिया पालना, नियमित अनुगमन र सम्बन्धित निकायबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो। उहाँले सार्वजनिक स्रोतको सदुपयोग गर्दै नागरिकको आवश्यकतामा आधारित योजना अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो।

सडक डिभिजन नुवाकोटका प्रमुख इन्जिनियर बद्रीप्रसाद शर्माले सडक विस्तारको काम अघि बढिरहेको जानकारी दिँदै वर्षायाममा पहिरो, भौगोलिक कठिनाइ, बजेट व्यवस्थापन र निर्माण सामग्री ढुवानी चुनौतीका रूपमा रहेको बताउनुभयो। सडक निर्माणसँगै नियमित मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन थापाले गुणस्तरीय योजना कार्यान्वयनका लागि यथार्थपरक लागत अनुमान, समयमै बजेट निकासा, दक्ष प्राविधिक जनशक्ति परिचालन र आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख अमृतकुमार दाहालले कृषि उत्पादन वृद्धि र ग्रामीण विकासका लागि सिँचाइ पूर्वाधार विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो भने भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख महेश पौडेलले विकाससँगै वातावरण संरक्षण, पहिरो नियन्त्रण र जलाधार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा विभिन्न स्थानीय तहका पूर्वाधार शाखा प्रमुख, इन्जिनियर तथा प्राविधिकहरूको सहभागिता रहेको थियो।सहभागीहरूले सार्वजनिक खरिद प्रक्रिया, बजेट कार्यान्वयन, प्राविधिक जनशक्ति व्यवस्थापन, प्राकृतिक विपद्का चुनौती तथा अन्तरनिकाय समन्वयका विषयमा धारणा राख्दै योजना छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म स्थानीय समुदायको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार अन्तरक्रियाबाट प्राप्त सुझाव सम्बन्धित निकायमा पठाइनेछ भने आगामी योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रियामा उपयोग गरिनेछ। सहभागीहरूले यस्ता कार्यक्रमले विकास निर्माणसँग सम्बन्धित निकायबीच समन्वय बढाउनुका साथै साझा चुनौती समाधानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्