बागमतीसहित तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने चेतावनी



काठमाडौं, श्रावण १५ — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मधेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान तथा गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने तथा हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ भने बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी र तराई क्षेत्रका केही स्थान, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।कोशीका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्