नुवाकोटमा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ



विदुर, श्रावण १५ — लागू औषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विदुर नगरपालिका–९ निवासी कृष्णबहादुर सार्कीका ३५ वर्षीय छोरा सन्तोष सार्की रहेका छन्। नुवाकोट जिल्ला अदालतले २०८२ साल चैत ९ गते लागू औषध मुद्दामा सार्कीलाई दोषी ठहर गर्दै दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर फैसला कार्यान्वयनका क्रममा कैद तथा जरिवाना भुक्तान नगरी उनी फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको विशेष टोलीले खोजतलासका क्रममा श्रावण १४ गते उनलाई पक्राउ गरेको हो।पक्राउपछि सोही दिन नुवाकोट जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

अदालतको आदेशअनुसार तोकिएको कैद सजाय भुक्तानका लागि सार्कीलाई नुवाकोट कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सहप्रवक्ता तथा सह–सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्