देवानगञ्ज घटनामा सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने
सुनसरी,साउन १५ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।
साउन १४ गते भएको सम्झौताअनुसार गृह मन्त्रालयले पीडित परिवारले उठाएका मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। सहमतिअनुसार दुवै मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै प्रत्येक परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
सम्झौतामा साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने उल्लेख गरिएको छ। त्यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति पनि भएको छ।
यस्तै, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनमा आउने सुझाव तथा सिफारिसहरू कानुनअनुसार कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने र मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सम्झौतापत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकका साथै गृहमन्त्री सुधन गुरुङको तर्फबाट हस्ताक्षर गरिएको उल्लेख छ। साथै, मृतकहरूको अन्तिम संस्कार तोकिएको समयमा सम्पन्न गर्ने सहमति पनि जनाइएको छ।

