लघुवित्तपीडितसँग सरकारको दोस्रो चरणको वार्ता आज, समाधान खोज्न प्रयास
काठमाडौं,साउन १५ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज दोस्रो चरणको वार्ता हुने भएको छ। बिहीबार सम्पन्न पहिलो चरणको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको जनाइएको छ।
आन्दोलनरत लघुवित्तपीडितका माग सम्बोधन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गर्नुभएको हो।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहनुभएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्यसचिव तोकिनुभएको छ।
लघुवित्तपीडितहरूले धितो लिलामी तथा कानुनी कारबाही तत्काल रोक्न, लघुवित्त संस्थाको पुनर्संरचना गर्न, सामूहिक ऋण प्रणाली अन्त्य गर्न, एउटै व्यक्तिले विभिन्न लघुवित्त संस्थाबाट लिएको ऋण एकीकृत गरी पुनर्तालिकीकरण गर्न तथा ब्याजदर सहुलियतपूर्ण बनाउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।
आजको वार्ताबाट पीडित पक्षका माग र सरकारको धारणा बीच सहमतिको आधार तयार हुने अपेक्षा गरिएको छ।

