कुटपिटमा घाइते महिलाको उपचारकै क्रममा मृत्यु, एक पक्राउ
पर्सा,साउन १५ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्काको खोजी भइरहेको छ।
प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०ः५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।
घटनापछि घाइते लिलावती देवीको नारायणी अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि साउन ३२ गते साँझ अस्पतालबाट डिस्चार्ज गरिएकी उनको साउन १४ गते साँझ पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का मनोज प्रसाद कुर्मीको खोजी जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

