सञ्चार क्षेत्रमा ऐतिहासिक काम गर्ने लक्ष्य, फोरजी विस्तारदेखि फाइभजी सुरुआतसम्म प्राथमिकता



काठमाडौँ,साउन १६ । सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षमा आमसञ्चार तथा दूरसञ्चार क्षेत्रमा अभूतपूर्व र ऐतिहासिक काम गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गर्दै यस्तो लक्ष्य अघि सारेको हो।

बैठकले गत आर्थिक वर्षमा मन्त्रालयले निर्धारण गरेका भौतिक तथा वित्तीय लक्ष्य प्राप्तिको समीक्षाबाट पाठ सिक्दै चालु आर्थिक वर्षमा अझ प्रभावकारी र परिणाममुखी काम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

मन्त्रालयले विशेषगरी दुर्गम तथा दूरदराजका क्षेत्रमा चौथो पुस्ताको मोबाइल सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ। यस्तै, पाँचौँ पुस्ताको मोबाइल सेवा सुरुआत तथा नागरिकलाई प्रभावकारी सञ्चार सेवा उपलब्ध गराउने विषयलाई पनि चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखिएको छ।

सूचना तथा सञ्चारमन्त्री डाक्टर बिक्रम तिमिल्सिनाले सुशासन स्थापना तथा सहज नागरिक सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्रालय तथा मातहतका सबै निकायको कार्यसम्पादन क्षमता वृद्धि गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमार्फत परिणाममुखी काम गर्नेमा जोड दिइएको उहाँले बताउनुभयो ।

बैठकमा गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र सार्वजनिक सेवा प्रसारण संस्थालाई थप प्रभावकारी, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका काम अघि बढाइएको जानकारी दिइएको छ।

लामो इतिहास बोकेका सार्वजनिक सञ्चार संस्थाहरूको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै बैठकले ती संस्थाको विश्वसनीयता, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएको छ।

मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित तथा मातहतका सबै निकायलाई राष्ट्र र जनतालाई केन्द्रमा राखेर उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै परिणाम देखिने गरी काम गर्न बैठकले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्