हात भाँचिएपछि सुरु भएको उपचार, संक्रमणले बढायो पीडा : नुवाकोटकी करिस्माको जीवन बचाउन सहयोगको अपिल



नुवाकोट,साउन १६ । बेलकोटगढी नगरपालिका–५ की करिस्मा श्रेष्ठ अहिले अस्पतालको शय्यामा छिन्। श्री कामरुदेवी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत करिस्माको हात भाँचिएपछि सुरु भएको उपचार अहिले थप जटिल बनेको छ। परिवारका लागि छोरीको उपचारसँगै बढ्दो खर्च ठूलो चुनौती बनेको छ।

गत असार २२ गते हात भाँचिएपछि करिस्मालाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। उपचारका क्रममा हातमा लगाइएको ब्यान्डेज वरपर संक्रमण भएपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको परिवारले जनाएको छ।

संक्रमित भागमा चिकित्सकको सल्लाहअनुसार पेटको भागबाट छाला प्रत्यारोपण गर्नुपर्ने भएको छ। उपचारमा यसअघि नै परिवारको आर्थिक क्षमताभन्दा बढी खर्च भइसकेको छ।चिकित्सकले अझै करिब दुई महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएकाले थप करिब तीन लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको परिवारले जनाएको छ।

करिस्माका बुवा हरिकृष्ण श्रेष्ठ गाउँघरमा राजेन्द्र श्रेष्ठका नामले परिचित हुनुहुन्छ। आमा कमला श्रेष्ठसहितको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले निरन्तरको उपचार खर्च जुटाउन कठिन भएको छ। छोरीको उपचार रोक्नुपर्ने अवस्था नआओस् भन्ने चिन्ताले परिवारलाई सताइरहेको छ।

परिवारले करिस्माको उपचारका लागि सहयोगको अपिल गरेको छ। इच्छुक सहयोगी मनहरूले उपलब्ध गराइएको क्युआर कोड वा त्यसमा उल्लेखित कुमारी बैंक लिमिटेडको खातामार्फत आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।

सानो सहयोगले पनि उपचारमा ठूलो सहारा पुग्ने भन्दै परिवारले करिस्माको उपचारका लागि सहयोग गरिदिन सबैमा हार्दिक अनुरोध गरेको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या नआओस् र करिस्माले पुनः आफ्नो विद्यालय फर्किएर पढाइलाई निरन्तरता दिन सकून् भन्ने आशामा परिवार सहयोगी हातहरूको प्रतीक्षामा छ।

प्रतिक्रिया दिनुहोस्