टेकुबाट पाँच कम्पनीका ग्यास सिलिण्डर बिक्री, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी



काठमाडौँ,साउन १६ । खाना पकाउने एलपी ग्यासको बिक्रीवितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट पाँच कम्पनीका ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ।

निगमले आजदेखि काठमाडौँ उपत्यकामा बिक्री हुने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था गरेको हो। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म १४ दशमलव २ केजीका ग्यास सिलिण्डर बिक्री गर्नेछन। निगममा अनुसार गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको थियो। यही साउन १ गतेदेखि १५ गतेसम्म उद्योगीले २६ दशमलव ५ मेट्रिकटन ग्यास आयात गरेका छन्।

प्रवक्ता ठाकुरले बजारमा ग्यासको अभाव नभएको र मागअनुसार आपूर्ति भइरहेको दाबी गर्नुभयो। उहाँका अनुसार ७ दशमलव १ केजीका सिलिण्डरबाट १४ दशमलव २ केजीका सिलिण्डरमा परिवर्तन हुँदा केही समयका लागि माग र आपूर्तिमा समस्या देखिएको हो।

“ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ। सात दशमलव १ किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव २ किलोमा परिवर्तन हुँदा तत्काल समस्या देखिएको हो,” उहाँले भन्नुभयो, “बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ।”

निगमले पर्याप्त ग्यास आयात भइरहेको बताए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको र अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काउने गरेको गुनासो छ।

काठमाडौँको बालाजु क्षेत्रमा बसोबास गर्ने नवराज पोखरेलले केही दिनदेखि सहज रूपमा ग्यास नपाएको बताउनुभयो। उहाँका अनुसार ग्यास पसलमा जाँदा उद्योगबाट ग्यास नआएको भन्दै नाम टिपाएर फर्किनुपरेको छ।

निगमले एलपी ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको जनाउँदै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। बजारमा ग्यास अभाव भएको गुनासो आइरहेकाले निगमले उद्योगीलाई सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा ग्यास खरिद गर्ने व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखेर बिक्रीवितरण व्यवस्थित गर्न बिक्रेतालाई अनुरोध गरेको छ।

निगमले दैनिक रूपमा मागअनुसार ग्यास आपूर्ति भइरहेको स्पष्ट पार्दै ग्यास नपाएको अवस्थामा हटलाइनमार्फत जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्